राजधानी साप्ताहिकद्वारा सहयोगीहरु सम्मानीत
कतारबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका राजधानी साप्ताहिकले आफ्नो प्रकाशनको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रबाट पत्रिकालाई सहयोग पुर्याउनुभएका महानुभावहरुको कदर गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
हिजो शुक्रबार दोहा स्थित नेपाली दूतावासको सभा कक्षमा आयोजित छोटो तर मिठो कार्यक्रममा कतारका लागि कार्यवाहक राजदूत राजेन्द्र पाण्डे तथा कतार सरकारको रेडियो एण्ड टेलिभिजन कर्पोरेशनमा कार्यरत श्रीमति सविता बैद्यलाई राजधानी साप्ताहिकका प्रबन्ध निर्देशक आशिष शेरचनले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । त्यस्तै प्रशंसा पत्रबाट सम्मानीत हुने समाचारदाता, साहित्यकार, लेखक तथा सहयोगीहरुमा कतारमा कार्यरत बिर बहादुर थापा, राई रमेश गाउँले, उत्तम सेन, क्रान्ति सिंह, सरोज वास्तोला, कुमार कार्की, नेत्र खनाल, वासुदेव पौड्यल अन्जान, गोकुल कुंवर, स्वयम्बर सिंह लामा, ध्रुब श्रेष्ठ, कमल धन्कुटी, महम्मद ईव्राहिम तथा बिजय माझी रहनुभएको थियो भने दुवाईमा कार्यरत खेमनाथ पौड्यल र बालचन्द्र पोखरेल हुनुहुन्थ्यो ।
गत वर्षको जनवरीदेखि कतारको दार अल शार्कसंगको सहकार्यमा प्रकाशित हुँदै आएको राजधानी साप्ताहिक कतारमा मात्र नभएर वहाराईन लगाएत मध्यपूर्वका अन्य देशहरुमा पनि उपलब्ध गराईएको छ । हरेक हप्ताको विहिबार प्रकाशित हुने साप्ताहिकको विक्रीले प्रति अंक १४,००० नाधेको पनि प्रबन्ध निर्देशक शेरचनले यस सम्बाददातालाई वताउनुभयो ।
वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको सभापतित्व साप्ताहिक राजधानीका प्रबन्ध निर्देशक आशिष शेरचनले गर्नुभएको थियो भने प्रमुख अतिथिमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा गैह्र आवासिय नेपाली संघका उपाध्यक्ष (मध्यपूर्व) सागर नेपाल, नेपालकतार डट कममा संचालक शिखर बैद्य, गैह्र आवासिय नेपाली संघ कतारका अध्यक्ष कमलमणि गुरागाई, समाजसेवी रविकान्त लाल तथा कतार सरकारको रेडियो एण्ड टेलिभिजन कर्पोरेशनका नेपालीभाषाका प्रेस रिभुअर सविता बैद्य रहनुभएको थियो ।
कतारमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा साहित्यकारहरु, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रम राजधानी साप्ताहिकका समाचारदाता रवि भट्टले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपालकतार डट कमका संचालक शिखर बैद्यले कतारमा कार्यरत नेपालीहरुलाई नेपाल तथा कतारसंग सम्बन्धित समाचारहरु आफ्नै भाषामा उपलब्ध गराएर राजधानी साप्ताहिकले नेपालीहरुको सुसुचित हुने अधिकारको संरक्षण गर्न सकेको विचार व्यक्त गर्दै राजधानीको उज्जवल भविष्यको कामना गर्नुभयो । त्यस्तै अर्का वक्ता गैह्र आवासिय नेपाली संघका उपाध्यक्ष (मध्यपूर्व) सागर नेपालले पत्रकार साथीहरु निष्पक्ष भएर सबै कमि कम्जोरीहरुको विरुद्धमा कलम चलाउन अनुरोध गर्नुभयो ।
प्रमुख अतिथिको आसनबाट कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले राजधानी साप्ताहिकलाई दूतावासको तर्फबाट सक्दो सहयोग गरिरहेको भएता पनि सबै घटना तथा समाचारहरु उपलब्ध गराउन नसकिएको वताउनुभयो । राजधानीमा प्रकाशित समाचारहरुले नेपालीहरुलाई सजक तुल्याउन मद्दत पुगेको विचार व्यक्त गर्दै यसले भविष्यमा अझ सशक्त भुमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै राजधानी साप्ताहिकका प्रवन्ध निर्देशक आशिष शेरचनले पत्रिकालाई प्राप्त सहयोगको लागि सबैलाई धन्यवाद दिनुभयो । राजधानी साप्ताहिकले आफ्नो वार्षिक उत्वकको उपलक्ष्यमा हालै नेपाल बुक शपसंगको सहकार्यमा मह जोडी सम्मिलित नेपाली संस्कृतिक कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको पनि वताउनुभयो । पत्रिकाका कमि कम्जोरीहरु केलाई आवश्यक सल्लाह दिनुहुन सबैलाई अनुरोध गर्दै शेरचनले भविष्यमा पनि सदाझै सबैको सहयोगको अपेक्षा रहेको तथा राजधानी साप्ताहिकलाई अझ प्रभावकारी वनाउदै लैजाने वताउनुभयो
(c) Nepalqatar.com













