हराउँदैछन् दन्त्य कथाहरु
- समीक्षा कोइराला, १७ जेठ पोखरा ।
बीस बर्ष अघि कास्की-२ देउरालीका बुद्धि घिमिरे छोरी अरुणालाई काखमा राखि मधु मालतीको कथा सुनाउँथे । जसमा मधुकर वायुपखीं घोडामा चढेर मालतीलाई लिन आउँथे । मधु र मालती विचको मित्रता र उनीहरुले भोग्नुपरेको दुखले उनको मन छुने गर्दथ्यो ।
तर अहिले २० बर्षपछि अरुणाका ५ बर्षिय छोरा अरबिन के।सी मधुकर-मालतीलाई होइन काटून पात्र टम एण्ड जेरीलाई चिन्छन् । त्यो भन्दा बढी उनी रेस्लिङका अण्डरटेकर र कार रेसिङका माइकल सुमेकरलाई चिन्छन् ।
अरबिन जस्ता पछिल्लो पुस्ताका केटाकेटी दन्त कथाका बारेमा थोरै मात्र जानकारी राख्छन् । जति थाहा पाउँछन त्यो घरमा बाबुआमा वा हजुरबा-हजुरआमाको काखमा बसेर होइन शिक्षकबाट । छोराछोरीलाई कथा सुनाउने फुसर्द बाबुआमालाई पनि हुँदैन ।
कुमुदिनी होम्समा कक्षा ४ मा अध्ययनरत निरज आचार्य कथाको कुरा गर्ने वित्तिकै अङ्ग्रेजीका सिन्डे्रला र स्नोह्वाइटलाई सम्झन्छन् । यी कथाका पात्रहरुलाई उनले स्कुलका शिक्षक शिक्षिकाको माध्यमबाट चिनेका हुन् । तर उनलाई पनि अरविन जस्तै पोगो र कार्टुन नेटवर्क जस्ता टेलिभिजनका च्यानल नै बढि पि्रय लाग्छ । निरजकि आमा निरा आचार्य यस बारेमा भन्छिन्-यो समयको माग हो । आफ्ना पालामा प्रविधीको विकास नभएकाले दन्त्य कथाका सिमित हुनुपरेको तर अहिलेका पुस्ता आधुनिकरण तर्फ लम्केकाले टिभी र कम्प्युटर गेममा समय विताउनु राम्रै कुरा भएको उनी बताउँछन् ।
पोखरा गैह्रापाटका जीवन प्रकाश पराजुली ७० अहिले आफ्ना नाति नातिनाले कथा सुनाउन खोज्दा पनि नसुन्ने बताउँछन् । भन्छन्-पुराना कुरो गर्यो कि त उहिले का कुरा खुइलिए भनेर सुन्दैनन् ।
पहिलेका बच्चाहरु सात आठ बर्षपछि विद्यालय जाने हुँदा बुवा आमासँग धेरै समय विताउन पाउँथे । अहिले ३ बर्षकै उमेर विद्यालयमा पठाउनुपर्ने हुनाले पनि बाबु आमासँग धेरै समय विताउन नपाउने हुनाले कथा सुन्ने र सुनाउने प्रचलन नभएको पराजुलीको धारणा छ ।
परिवर संयुक्तबाट एकल बन्दै गएकाले पनि दन्त्य कथाहरु हराउँदै गएको तर्क राख्छिन्- निरा आचार्य । भन्छिन्- अहिले परिवारमा सबै व्यस्त हुन्छन् । हाम्रो समयमा हजुरवुवा हजुरआमाले कथा सुनाउनुहन्थ्यो अहिले कसले सुनाउने कथा सुन्न बच्चाहरु पनि उत्सुक नहुने बाबुआमाको गुनासो छ । उनीहरु सकेसम्म टिभी र क्म्प्युटरमा छोराछोरीलाई व्यस्त बनाएर आफ्नेा फुस्रत निकाल्न खोज्छन् । यो परिवर्तनले गर्दा कथा सुनाउँदा बाबुआमासंग छोराछोरी बिचको आत्मियतामा पनि कमि आएको विश्वास गरिएको छ । यो प्रवृत्तिले दन्त्य कथा घरमा सुन्ने सुनाउने चलनमा कमी आएको छ ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठ इतिहासको जानकारीका लागि पनि दन्त्य कथाहरुको महत्व भएको बताउँछन् । दन्त्य कथा अहिले पुस्तकमा मात्र सिमित भएको र त्यो बालबालिकाले पढ्ने नगरेको उनी स्वीर्काछन् । पुराना कुराको जानकारी गराउन दन्त्य कथामा कार्टुन र कमिक बनाइनुपर्ने श्रेष्ठको धारणा छ । भन्छन्- साहित्यलाई समयानुकुल बनाउनपर्छ । अनि मात्र यसको संरक्षण संभव छ ।













