:: कहाँ छैन यौन व्यापार ? : : June : : 2008
Custom Search

परिवर्तन नेपाल, June 25, 2008 11:17 am

कहाँ छैन यौन व्यापार ?

हर्दा सामान्य र गृहिणी लाग्ने महिला यौन व्यवसायमा पनि संलग्न छन् भन्दा कसले पत्याउला र ? घरमा नातिनातिना खेलाउँने महिला यौन व्यवसाय गर्छन् भन्दा कसरी विश्वास गर्ने ? तर उनीहरूसँग भलाकुसारी गर्दा भने नपत्याइ धरै हुन्न ।

अल्लारे किशोरीदेखि वयस्क तथा नातिनातिना देखिसकेका पाका महिलासम्म यस पेशामा लागेर काम गर्दै आएका छन् । कैलाली मुडाकी वादी समुदायकी १२ वषिर्या बालिका रोजी वादी पनि बुझ्छिन्- यौन व्यापारका कुरा । उनका दिदी र आमाले सो काम गर्ने गरेको बताउँदै उनी भन्छिन्- अरुलाई खुशी गरेर खानर्पर्छ । खान लाउन नपाएपछि त्यस्तो काम गरेको ठीकै लाग्छ । नगरेर के गर्ने त ? ४ कक्षामा पढ्ने रोजी उनको आमा तथा दिदीसँग वादी आन्दोलनमा सामेल हुन केही समय अगाडि काठमाडौं आएकी थिइन् तर उनलाई थाहा छैन काठमाडौं किन गईयो - यद्यपि उनी पढेर पछि आफ्नो पुख्र्यौली पेशाविरूद्ध जनचेतना फैलाउन चाहन्छिन् ।
मानवीय सभ्यताको सबैभन्दा पुरानो पेशाको रूपमा लिइएको यौन व्यवसायलाई वाध्यताको पेशाको रूपमा अंगाल्न वाध्य भएको उनीहरू बताउँछन् । कतिपय यौन व्यवसायी महिलाहरू आफूलाई ‘पियर एजुकेटर’को रुपमा प्रस्तुत गर्दै विभिन्न यौनरोगबाट मुक्त हुने तथा एड्सबाट बच्ने उपाय पनि सिकाउँछन्- आफूजस्ता यौन व्यवसायीलाई । कतिपयले भने नेपाल परिवार नियोजन संघको आर्थिक सहयोगमा आफ्नो व्यवसाय नै परिवर्तन गरेका छन् ।

यौन व्यापारमा श्रीमानको दलाली
यौन व्यवसाय प्रायः होटल, रेष्टुरेष्टमा हुने गरेको मानिन्छ । तर यो संवाददाता चितवन, बाँके, कैलाली तथा दाङजस्ता जिल्लाका यौनकर्मी भेट्ने क्रममा यो पेशा होटलमा मात्र सीमित नभएको पाइयो । उल्लेखित जिल्लाका कतिपय बेरोजगार तथा कामचोर पुरुषहरूले आफ्नो श्रीमतीले यौन व्यवसाय गरेकोलाई नदेख झैं गरी मौन र्समर्थन गरेको पनि पाइयो । यो व्यवसाय होटलमात्र होइन, आफ्नै घर, जंगल जताततै मौलाएको पाइन्छ । अर्थात कतिपय महिलाहरू जंगलमा घाँसपात र यौनव्यवसाय दुवै गर्दछन् । कैलालीकी शान्ति चौधरी भन्छिन्- ‘श्रीमानले २।३ पटक त घरमैं भेट्टाए । श्रीमानले कि खुवाउनु पर्‍यो कि घुम्न पठाउनु पर्‍यो ।’ १० वर्षो उमेरमा अनमेल विवाह गरेकी शान्ति राम्रो खाने, लाउने रहरकै कारण यौन व्यवसाय गरेर अहिले छोडिसकेको बताउँछिन् । कतिपय यौनव्यवसायी महिलाहरूको आग्रह थियो- हाम्रो नाम ठेगाना नखुलाउनु होला, सुरक्षा निकाय र माओवादीले त हैरान पार्छन् ।

नेपालगंजकी अर्की यौनकर्मी आशा आफू यौनकर्मीको रूपमा काम गर्न श्रीमानले नै बाध्य पारेको बताउँछिन् । उनको स्पष्ट कथन थियो- मलाई श्रीमानले नै यौन व्यवसाय गर्न बाध्य पारेको हो । नौ दश पटक श्रीमानले नै दलाली गरेर मलाई सम्बन्ध राख्न पठायो । पछिल्लो पटक मैले दाजु भन्दै आएको मान्छेसँग सुत्न पठाएपछि आफैं जान थालें ।

चितवनकी ५ छोरी एक छोराकी आमा तथा एक ४० वषिर्या यौनकर्मी भन्छिन्- सन्तुष्टिको लागि श्रीमान छँदैछन्, मैले गरेको त पैसाकै लागि हो । सधै लजमा ग्राहक पाइन्न, जंगल पनि जानु पर्ने हुन्छ ।’ आफ्नो कामप्रति श्रीमानको मौन र्समर्थन रहेको बताउँदै उनी अगाडि भन्छिन्- श्रीमतीले पैसा कहाँबाट ल्याउँछे भन्ने कुरा बुझेरै होला काम नगर्ने श्रीमान पैसाको स्रोत बुझ्ने आँट गर्दैनन्, बुझ पचाएर बसेका छन् । छोराछोरी पाल्न यौन कार्य
छोराछोरी पाल्न वाध्य भएर यौन व्यवसायमा लागेको आम यौनकर्मी महिलाहरूको तर्क छ । वाध्यता र खर्च चलाउनकै लागि यौन पेशा अंगालेको बताउने महिलाहरू प्रायः अशिक्षित छन् । कैलालीकी यौनकर्मी भगवती पनि आफूले छोराछोरी पाल्नकै लागि यौनकार्य गरेको बताउँछिन् । छोरा विरामी हुँदा आफूसँग भएको चारआना सुन धितो राख्न खोज्दा समेत पाँचसय रुपियाँ पाउन नसकेपछि आफू बाध्य भएको बताउँदै उनी आक्रोश पोख्छिन्- ‘अर्काको घरमा काम गरेर पनि खान पुग्दैन, बच्चालाई भोकले मार्नुभन्दा आफैं तड्पेर भएपनि खुवाउन त पर्‍यो । मान्छेहरूले त गिल्ला गर्ने, उडाउने मात्र हो, फेरि उनीहरूले नराम्रो काम गर्ने भनेर किन थुक्ने ?

भगवतीकाअनुसार उनले आठ महिना अगाडि यौन व्यवसाय गरेकी थिइन् भने अहिले उनले त्यो काम छाडेकी छन् । अहिले उनले परिवार नियोजन संघबाट सात हजार रुपियाँ लिएर पसलसंचालन गर्दै आएकी छिन् ।

द्वन्द्वका बेला बम विष्फोटमा परी श्रीमानको मृत्युपछि विधवा हुनु परेका दाङकी कमला (नाम परिवर्तन) परियार पनि यही व्यवसाय गरेर बसेकी छन् । दुइ छोराछोरीकी आमा कमलाको कथन छ- माइतमा बस्दै आएको छु । छोराछोरी पढाउने, कितावकापी किन्ने खर्च चाहिएपछि मजबुरीले काम गर्दै आएको छु ।

रमाइलो गर्दागर्दै…….
घुम्ने खाने क्रममा महिला तथा पुरुष साथीको लागि पनि उनी आफै खर्च गर्थिन् । ‘श्रीमान नभएको कारण साथीहरूसँग घुम्न, खान म आफैंलाई पनि रमाइलो लाग्थ्यो वियर खाइन्थ्यो । यही कारण साथीहरूको लागि म आफैं खर्च गर्थें’ । उनी अगाडि भन्छिन्- पुरुषसँग यौन सम्बन्ध राख्दा पैसा आउँछ भन्ने मलाई थाहै थिएन, मलाई प्रयोग गरेर अर्को महिला साथीले पैसा कमाईरहेको कुरा चार महिना पछि मात्र थाहा पाएँ ।’ एचआईभी एड्स तथा विभिन्न यौनरोगसम्बन्धी तालिम लिएको कारण सोप्रति सचेत शरिता भन्छिन्- यौनकर्मीलाई रोग लाग्छ भन्ने थाहा पाउने वित्तिकै जचाएँ, तै भाग्य छैन रहेछ, अनुहार हेरेर थाहा हुन्न के गर्ने -
चितवनकी सरिता २२ वर्षो हुँदा श्रीमानको मृत्यु भयो । १३ वर्षा विवाह गरेर १४ वर्षो उमेरमा बच्चा जन्माएकी सरिताले तीन जना छोराछोरी पाल्न उनले व्यापार गर्न थालिन् । व्यापारको सिलसिलामा कहिलेकाहीं साथीसँगको भेटघाटको क्रममा उनको मादक पदार्थ खाने बानी पर्‍यो । व्यापार राम्रो चल्न सकेन । घाटाको व्यापार हुन थालेपछि दिक्क मान्दै रमाइलोको लागि महिला साथीसँग घुम्न थालिन् । यही घुम्ने क्रममा आफूले थाहै नपाई देहव्यापारमा लागिसकेको कुरा चार महिना पछि मात्र चाल पाइन् । ३८ वर्षपुगेकी सरिताले अहिले आफ्नो व्यवहार परिवर्तन गर्न खोजेकी छन् । उनलाई लैजाने साथीसँगको सम्बन्ध टुटाएकी छन् ।

यस्तै २५ वर्षी अर्की यौनकर्मी श्रीमान श्रीमतीमध्ये दुवै बरोजगार बस्नु परेपछि झगडामैं दिन वित्न थालेकोले दिक्क भएर यौन कार्यमा संलग्न भएको बताउँछिन् । दुइ बच्चाबच्चीकी आमाले पहिलो पटक यौनकर्मीको रूपमा पैसा पाउँदा आफू उत्साहित भएको बताउँदै भनिन्- पैसा पनि आउँने रहेछ, राम्रो हुँदो रहेछ जस्तो लाग्यो । तर एक वर्षयो काम गरेपछि भने बेक्कार गरेंछु जस्तो लाग्न थालेको छ ।

दाङकी रेखाले पनि रमाइलोका लागि विवाह अगाडि यौनकर्मीको रूपमा काम गरिन् । विद्यालयकै पोशाकमा ग्राहकले भनेको ठाउँमा जाने रेखाले आफ्ना ‘पार्टनर’को रूपमा सैनिकहरूलाई बढी मन पराइन् । उनले हौसिंदै भनिन्- पहिलो चोटी नै आर्मीको ठूलै मान्छे रहेछ, पाँच हजार दियो । त्यसपछि त सानोतिनो मान्छेलाई हर्र्दै नहर्र्ने भएँ । बढी पैसा पाउन थालेपछि झन उत्साहित भएर काम गर्न थालें ।

कण्डम लुछालुछ
यी यौनकर्मीहरु ग्राहकलाई कण्डम प्रयोग गर्न लगाउँछन् । विभिन्न यौन रोग सम्वन्धमा यिनीहरु जानकारी पनि राख्दछन् । यौनको भोक मेटाउन हिडेका ग्राहकहरु कमैले मात्र कण्डम बोकेर हिड्छन र यिनीहरुलाई यौनकर्मी महिलाहरुले नै कण्डम उपलब्ध गराउने गरेको छ । यी यौनकर्मीहरु कण्डम बजारबाट भने किन्दैनन्, नेपाल परिवार नियोजन संघबाट लिन्छन् ।
नेपाल परिवार नियोजन संघले यौन कर्मीहरूलाई यौन रोगबाट बचाउन तथा एचआईभी संक्रमणबाट बचाउन कण्डम वितरण गर्ने गरेको छ । यसै क्रममा छ महिना अघि कैलालीको मूढामा बादी समुदायमा वितरण गर्न भनी एक जना वादी महिलाले तीन हजार कण्डम लिएर गइन् । उनले अरुलाई दिइनन् तर अरुले थाहा पाएर कण्डम लिनका लागि ठूलो झगडा भयो । कण्डम लुछालुछ भयो । कण्डमका लागि झगडा हुँदा सडकमा घण्टौं गाडि जाम भयो । कण्डम पुर्‍याउन गएका नेपाल परिवार नियोजन संघ, कैलाली शाखाका युवा संयोजक खगेन्द्र जोशी भन्छन्- स्थानीय एक शिक्षकले मलाई देखाएर संघको कर्मचारीमात्र हो भनेर वादी समुदायलाई सम्झाएपछि म भागेर अफिस आएँ ।

यो संवाददाता मुढामा गएको बेलामा पनि परिवार नियोजन संघले ३ हजार कण्डम स्थानीय तरुणा वादीलाई हस्तान्तरण गरेको थियो । ‘यो कण्डम २० जना मूढाका दिदीबहिनीको लागि एक हप्ताको लागि हो । वादी समुदाय यौन रोगबारे सचेत छ, कण्डमको काम सबैलाई थाहा छ ।’ कण्डम लिंदै तरुणाले अगाडि भनिन्- हाम्रो सम्पत्ती नै यही हो, यसैबाट ज्यान जोगिएको छ, माया नमार्नुहोला सर ।’

संघको कैलाली शाखाबाट प्राप्त तथ्यांकअनुसार सन् २००७ को अक्टोबरदेखि डिसेम्बरसम्ममा यौनकर्मी महिलाको लागि नौ हजार कण्डम वितरण गरिएको थियो । यस्तै केन्द्रबाट प्राप्त तथ्यांकअनुसार सन् २००६अप्रिलदेखि २००७ डिसेम्बरसम्ममा १९हजार चार सय ४६ वितरण गरिएको थियो ।

यौन व्यवसायीहरू उत्पादनमूलक काममा
नेपाल परिवार नियोजन संघले यौनकर्मी महिलाहरूको व्यवहार परिवर्तनको लागि विभिन्न सिपमूलक तालिम तथा तालिमअनुसारको काम गर्नको लागि ऋण पनि दिंदै आएको छ । माथि उल्लेखित अधिकांश यौनकर्मीहरूले व्यक्तिगत तथा सामूहिक ऋण लिएर विभिन्न किसिमका पसल संचालन गर्ने, पशुपालन गर्ने, चिप्स, दालमोठ,अचार, मैनबत्ती बनाउने तथा बेच्ने काम गर्दै आएका छन् ।

उत्पादनमूलक काममा सरिक भएपछि यौनकर्मी महिलाहरूले ‘पार्टनर’ कम गरेको दावी गरिएका छन् । साथै उनीहरूको कथन छ- कामै नपाएर यौन कार्य गरेको हो, काम गर्ने मेलो भए पछि त किन ग्राहक खोज्दै जानु र ?

परिवार नियोजन संघका कार्यक्रम अधिकृत श्याम बस्नेत पनि यौनकर्मी महिलाहरूलाई उत्पादनमूलक काममा सहयोग गरिएपछि स्वास्थ्यमा हुने जोखिम घट्दै गएको बताउँनुहुन्छ । संघकाअनुसार चितवन, दाङ, कैलाली र बाँके जिल्लामा ८३ जना यौनकर्मी महिलाहरूलाई ऋण दिइएको छ । ‘’द्वन्द्व प्रभावित पश्चिमी तथा सुदूर पश्चिमी जिल्लाका महिला यौनकर्मीलाई यौन रोग तथा एचआइभी एड्ससंक्रमण विरुद्ध कार्यक्रम’ ‘ शिर्षको परियोजना अर्न्तर्गत यौनकर्मी महिलालाई सहयोग गरिंदै आएकोमा परियोजना समाप्त भएपछि पनि संघको ‘कोर प्रोग्राम’ अर्न्तर्गत पारेर आगामी वर्षा पनि ऋण सहयोग दिंदै जाने कार्यक्रम रहेको संघका कार्यक्रम निर्देशक गिरीधारी शर्मा बताउँनुहुन्छ ।

संघले दिएका ८ हजारसम्मको ऋण तिर्नको लागि महिलाहरू आफूले लिएको तालिमअनुसार काम गरेर ऋण तिर्दै पनि आएका छन् भने कतिपयले तिरेका छैनन् । वादी समुदायका अधिकांश महिलाहरूले ऋण लिएका छैनन् । कैलाली परिवार नियोजन शाखाका जिल्ला शाखा अधिकृत देवराज जोशीकाअनुसार १५ जना वादी महिलाले मात्र ऋण लिएका छन् भने ‘वादी समुदायमा ऋण दिएपछि फिर्ता नहुने प्रबृत्ति बढ्दो छ ।’

‘पियर एजुकेटर’
ऋण लिएका तथा नलिएका कतिपय महिला यौनकर्मीहरूले (पियर एजुकेटर’ -साथी शिक्षक) को रूपमा अन्य यौनकर्मी महिलाहरूलाई यौन रोगको जोखिम तथा रोगबाट बच्ने उपायको बारेमा सल्लाह दिने गरेका छन् । यी पियर एजुकेटरको प्रत्येक जिल्लामा रहेको ड्रप इन सेन्टरमा समय समयमा भेटघाट गरेर सल्लाह गर्ने, परेको समस्यामा एक आपसमा समाधानको प्रयास गर्दछन् । चार जिल्लामा २३ वटा पियर एजुकेटर समूह रहेेको छ जहाँ आवश्यकताअनुसार छ देखि १० जना सम्मको समूह हुने गरेको छ ।

छरिएर रहेका प्रायः यौनकर्मीहरू अहिले परिवार नियोजन संघ र जनरल बेलफेयर प्रतिष्ठानको सकृयतामा समुहमा आएका हुन् । संघको अनुमानमा चितवनमा करीव छसय जना, बाँकेमा पाँच सय जना, कैलालीमा करीव छ सय जना र दाङमा करीव छ सय जना रहेको छ । यी संख्यामा रहेको यौनकर्मीलाई ‘पियर एजुकेटर’ले आवश्यकताअनुसार सुरक्षित यौन सम्बन्ध कायम गर्न अपनाउनु पर्ने विधि, एचआईभी एड्सबाट बच्ने उपाय, यौनरोगबाट बच्ने उपाय तथा रोग लागेपछि गर्नुपर्ने स्वास्थ्य विधिको बारेमा तालिम दिने, जानकारी गराउने गर्दछन् ।

‘पियर एजुकेटर’को रूपमा पनि काम गर्दै आएकी कैलाली मुढाकी तरुणा वादी भन्छिन्- समूहगत रूपमा तालिम पाउँदा रोगबाट बचियो, यौन रोग लागेकालाई उपचार हुँदै गरेको छ । ‘आफ्नै घरमा क्लिनिक संचालनार्थ ठाउँ समेत उपलव्ध गराउँदै आएकी तरुणा भन्छिन्- तीन तीन महिनामा रगत जाँच हुन्छ, परिवार नियोजनले डाक्टर पठाउँछन् । गर्भपतन, यौनरोग, कण्डम प्रयोगबारे हामी सबैले बुझेका छौं ।

श्रीमानले वाध्य पार्‍यो
मेरो विवाह भएको १० वर्षभयो । मेरो एक छोरा र एक छोरी छन् । तिनलाई पढाउन, पाल्नको लागि म यौन व्यवसाय गरेर कमाउँछु, श्रीमान समय समयमा गाउँबाट आएर पैसा लिएर जान्छ । अहिले पनि श्रीमान पैसा लिन आएको छ ।

मलाई श्रीमानले नै यौन व्यवसाय गर्न बाध्य पारेको हो । नौ दश पटक श्रीमानले नै दलाली गरेर मलाई सम्बन्ध राख्न पठायो । पछिल्लो पटक मैले दाजु भन्दै आएको मान्छेसँग सुत्न पठाए पछि म आफैं जान थालें । मैलै दाजु मानेको मान्छे मेरो श्रीमानको अगाडि सम्बन्ध राख्न अन्कनायो तर मेरो श्रीमानले थाहै नपाएजस्तो गरेर बसिदियो । मेरो श्रीमानले नै मलाई यस्तो काममा लगायो भने मैले कोसँग लुकेर बस्नु पर्‍यो र - अब त खुल्लम खुल्ला जान्छु, यसै बदनाम उसै बदनाम ।

मेरो श्रीमानलाई पैसा भएपछि केही चाहिन्न । शुरुमा १२ सय लिएर एकजना आर्मीसँग सम्बन्ध कायम गर्न पठायो । यसपछिका दिनमा ४।५ हजार कमाउँथें तर अहिले मैले आफ्नो ग्राहक कम गरेको छु । मलाई माया गर्ने नसिम नाम गरेका एकजना साथी पाएको छु । नसिम मलाई विवाह गर्न चाहन्छ, श्रीमानकै अगाडि आएर बस्छ, सँगै सुत्छ, श्रीमान केही भन्दैन । पैसा दियो भने मेरो श्रीमानले ऊसँग विवाह गर्न पनि दिन्छ होला । तर म छोराछोरी छोड्न सक्दिन । नसिम पनि मप्रति इमान्दार छ, उसको राम्रो परिवार छ । त्यसैले डर पनि लाग्छ ।

यौन व्यवसायीमा कण्डम प्रयोग बढ्दो
गिरीधारी शर्मा पौडेल
कार्यक्रम निर्देशक, नेपाल परिवार नियोजन संघ
यौन व्यवसायी महिलाहरू यस क्षेत्रमा आफ्नो इच्छाले, रहरले गरेको नभएर बाँच्नको लागि गरेको पाइन्छ । कसैले गर्दै आएको कामलाई हामीले छाड् भन्न मिल्दैन र छोड् भन्दैमा छोड्दैनन् पनि । हाम्रो उद्देश्य यौनकर्मी, तेस्रो लिंगी, तथा युवा वर्गलाई सुरक्षित गर्नु हो । उनीहरूलाई एचआईभी एड्स तथा विभिन्न प्रकारका यौन रोगबाट बचाउनको लागि हामीले कण्डम वितरण गर्दै आएका छौं । कण्डम वितरणलाई नकारात्मक रूपमा नलिई सकारात्मक रूपमा लिइनु पर्छ । कुनै एचआईभी भएको व्यक्तिसँग यौनकर्मी महिलाको सर्म्पर्क हुन गयो भने उसले धेरैजनालाई र्सार्न सक्ने हुँदा यो जोखिमलाई पनि बुझ्नु पर्छ ।

हुनत हामीले यौनकर्मी महिलाहरूलाई ‘कण्डम नेगोशियशन’ तालिम पनि दिने गरेका र्र्छौं । यो तालिमका कारण धेरै सकारात्मक पक्षहरू देखिन थालेका छन्, कण्डम प्रयोग बढ्न थालेको छ । हुनत एचआईभीका बारेमा दिइन थालिएको शिक्षा, चेतनाका कारण विश्व परिदृश्यमा एचआईभी संक्रमित हुने व्यक्तिको अनुपात कम हुन थालेको छ । यो परिदृश्यको विकास नेपालमा पनि हुनु पर्छ ।

सिपमूलक तालिम सहित काम गर्न थालेपछि यौन व्यवसायीहरूले आफ्नो व्यवसाय परिवर्तन गरेको तथा आफ्ना साथी कम गर्नेतिर गएको पनि पाइएको छ । विभिन्न व्यवसाय गर्दा यौन व्यवसायको लागि घुम्ने समय कम हुने हुँदा पनि उनीहरूमा एचआईभी तथा यौनरोगको खतरा न्यून हुँदै गएको छ ।

अमिका राजथला
(हसना म्यागेजिनमा २०६४ माघ महिनामा प्रकाशित लेख )

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/06/25/p662/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker